Ads by AdGenta.com
Ads by AdGenta.com

Monday, March 12, 2007

Tarabaji Lai Lai : Reminiscence of chidhood/adolecences memories

Note For Firefox/Flock or other browser user than Internet explorer: This is written in Nepali Unicode Font, So other browser than IE may not support this unicode and might become hard for you to read this article. To read this article, please switch your browser to IE.

बाल्यकालको झझल्को अझै पनि बलियो बनेर यो मुटुमा रहेको छ । स्कुल जाँदाको किस्साहरु, साथीभाई सँग खेल्दाको क्षणहरु अनि सानो सानो कुरामा चित्त नबुझेर रिसाएको क्षणहरु अझै स्पष्टसँग यो आँखामा झलझली आइरहन्छ । कहिले काही जब म एक्लै हुन्छु … मन भारी हुन्छ तब वितेका ती रमाइला क्षणहरु सम्झिन्छु मन हलुको भएर आउँछ । तर विर्सने बानी भएर हो कि के हो कति कुराहरु भने विर्सिन्छु । तर हिजो गुरुकुलको नाटक ताराबाजी लै लै हेरिसकेपछि भने बाल्यकालको क्षण झनै बढेर आयो । कति विर्सेका कुराहरु पनि याद आए । पढाई हुँदा हुँदै सरलाई छलेर भागेको क्षण, क्लासमा प्रश्न सोध्दा नआएर लाज लागेका क्षणहरु अनि त्यो लाजलाई हाँकमा बदलेको क्षण… धेरै कुराहरु चित्र झै झलझली याद आयो …नाटक हेरिन्जेल र हेरिसकेपछि पनि ।

साँच्चिकै ताराबाजी लै लै हेरिसकेपछि जिवनलाई फेरी एकपटक फर्केर हेर्न मन लाग्छ । यस नाटकको विशेषता हो कि यसको प्रत्येक पात्रमा दर्शकले आफुलाई कुनै न कुनै रुपमा महसुस गर्छ । कहिले आफुलाई भोला झैँ सोझो पात्रको रुपमा देख्छ जसको सोझोपनको फाइदा अरुले उठाइरहेका हुन्छन् वा कहिले के । पहिलो पहिलो प्रेमको स्मरण सँगै प्रेमलाई हेर्ने आफ्नो नजर पनि त्यहाँ महसुस गर्छ दर्शककले । बालापनको निर्दोषन किशोरअवस्थाको रमाइलो क्षणहरु अनि तन्नेरी भइसकेपछिको विपरित लिङ्गी तर्फको आकर्षण (यहाँ विवाद आउला कि?) सबै विस्तारै सम्झिदै जान्छ ।

सुरुवातको काठमाण्डौ ब्लुज गीत र काठमाण्डौको वातावरणको दृष्य साँच्चिकै मनमोहक थियो ..... निकै सरल र वास्तविक पनि । पात्रहरु एकदम वास्तविक देखिन्थे र कुनै कृत्रिमता त्यहाँ थिएन । लाग्थ्यो उनीहरु आफ्नो कथा आफै भनिरहेका छन् र सँगसँगै आफ्नो वितेको जिवनलाई पनि सम्झिरहेका छन् । निर्देशकको अब्बलता र सोचाइ निकै नै उत्कृष्ट छ र सानो ठाउँलाई थोरै सामानको प्रयोग गरेर १० वर्षको अन्तराल देखाउन सक्नु उनको र सहभागी सबै कलाकारहरुको विशेषता मान्नुपर्छ । उनीहरुको बालसुलभ व्यवहारको प्रस्तुति साँच्चै नै उत्कृष्ट थियो ।

थाहा छैन यो विशेषता हो कि गुरुकुलको, जे कुरालाई पनि एकदमै मज्जाले दर्शकको भावसँग मिलाउनु वा त्यसलाई टपक्क टिपेर कथा बुन्न सक्नु । ताराबाजी लै लै गुरुकुलको अर्को यस्तै उत्कृष्ट नमुना हो । भनिन्छ जीवनलाई कसरी हेर्ने हेर्ने व्यक्तिको आँखामा भर पर्छ रे खुशी भएर हेर्यो भने जीवन रमाइलो लाग्छ रे तर दुःखी भएर हेरे साह्रै पिडादायक देखिन्छ रे । सायद साँच्चिकै यो कुरा साँचो हुन सक्छ । तारावाजी लै लै हेरेपछि त्यस्तै अनुभव भएर आउँछ ।
धन्यवाद ताराबाजी लै लै लाई मेरो बाल्यकाल र विद्यार्थी अवस्थाको झझल्कोलाई पुन एक पल्ट याद गराइदिएकोमा ।

No comments: